काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु स्वेतपत्रको तयारीमा रहेको बताएका छन् ।
शुक्रबार पत्रकारहरुसमक्ष संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफूहरुमा पनि आत्मसमीक्षा आवश्यक रहेको बताए ।
उनले केपी ओलीले चालेको पछिल्लो कदम प्रतिगमन नै भएको बताएका छन् । ‘यो प्रतिगमन नै हो, यो लोकतन्त्रमाथिको प्रहार नै हो । यो संविधानमाथि घात नै हो,’ प्रचण्डले भने ।
उनले केपी ओलीको कदमविरुद्ध भएको आन्दोलन नेकपाको आन्तरिक विषय मात्र नभएको बताए । उनले व्यक्ति होइन मुद्दा हेर्न पनि आग्रह गरे ।
प्रचण्डले पहिलो र दोस्रो चरणको आन्दोलनमा बन्द हडतालका कार्यक्रम नराखिएको भन्दै आफूहरु पनि जनतालाई दुःख दिने बन्द हडतालको पक्षमा नरहेको बताए । तर, बाध्य भएर हडताल गरेको उनको प्रतिक्रिया थियो ।
एमसीसीका सम्बन्धमा पार्टीले अन्तिम निर्णय गरिनसकेको उनले बताए । सोही कारण आन्दोलनमा त्यससँग सम्बन्धित नारा नलगाउन आफूले भनेको उनले बताए ।
आफूहरुले संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध हडताल गरेकाले आन्दोलन त्यसै विषयमा केन्द्रित गरेको उनले बताए ।
‘संवैधानिक निकायमा गरिएको ज्यादतीपूर्ण नियुक्ति सामान्य खालको छैन,’ प्रचण्डले भने, ‘यो बेलामा दशथरीका नारा लगाउनुभन्दा जे विषयमा केन्द्रित छ, त्यसैमा मात्र नारा लगाउँ भन्ने हो ।
तपाईको प्रतिक्रिया !!