राजविराज : किसानको घरआँगनमा कागतीका बोट त देखिन्छन् तर ती कागती व्यावसायिक प्रयोजनका लागि भने हुँदैनन् । त्यसैले त नेपाली बजारका लागि ८५ प्रतिशतभन्दा बढी कागती भारतबाट आयात हुने गरेको छ । तराईको बजारमा उपलब्ध कागती पनि भारतबाटै आयात गरिँदै आएको छ ।
बजारमा बढ्दो माग र कम उत्पादनलाई मध्यनजर गरी सप्तरीमा पहिलो पटक अवकाशप्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेसामा आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पूरा गर्न गर्न भागवत यादव कागती खेतीमा लागेका हुन् ।
वार्षिक चार पटकसम्म फल दिने कागतीखेतीतर्फ जिल्लाका कृषकहरूलाई अकर्षित गर्न उनले प्रचारप्रसार गर्नसमेत थालेका छन् ।
सप्तरीमा वार्षिक झण्डै ६ करोड रुपैयाँबराबरको कागती खपत हुन्छ । त्यसमध्ये करिब ६० लाख बराबरको उत्पादन हुन्छ भने वार्षिक ५ करोड ४० लाख हाराहारीको कागती भारतबाट आयात हुँदै आएको छ ।
भारतीय कागतीको माग घटाउँदै जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले डाकनेश्वरी नगरपालिका– ९ का शिक्षक भागवत यादवले अवकाश पाएपछि घरसँगैको २ बिघा जग्गामा कागती खेती सुरु गरेका छन् ।
२०३३ सालमा शिक्षण पेसामा लागेर प्रधानाध्यापकसमेत भएका थिए । अवकाशपछि कागतीखेतीमा लागेका यादव यतिबेला भने बिरुवा रेखदेख तथा खेतीतर्फ कृषकको आर्कषण बढाउन प्रचारप्रसारमा समय बिताउँदै आएका छन् ।
वर्षमा चार पटकसम्म कागतीले फल दिने भए पनि जानकारी नरहेका कारण झन्झट मानिरहेका कृषकहरूलाई खेती गर्न आकर्षण बढाएर देशका ठूल्ठूला सहरसम्म कागती पुर्याउने सोच रहेको यादव बताउँछन् ।
हाल मासिक ३५ हजार रुपैयाँसम्मको कागती बजारमा पुर्याइरहे पनि भारतीय कागतीले बजार ओगटेकाले स्थानीय उत्पादनले बजार पाउन कठिनाइ भइरहेको उनले बताए । यसका साथै प्रविधिका कारण पनि समस्या हुने गरेको उनले बताए ।
स्वास्थ्यकर्मीका अनुसार मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, ई र केजस्ता भिटामिन पाइन्छ । औषधीय गुण भएकाले कागतीले रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ । यसले मलेरिया, डायरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदैन ।
तपाईको प्रतिक्रिया !!