जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा गठन भएको तीन वर्ष पूरा भएको छ । प्रदेशसभामा हालसम्म ५३ वटा विधेयक पेश भएकोमा ४१ वटा पारित भइसकेको सभामुख सरोज यादवले जानकारी दिए । उनका अनुसार पारित भएका अधिकांश विधेयक कार्यान्वयनमा आउन सकेका छैनन्। प्रदेशसभाको तीन वर्ष वितिसक्दा पनि प्रदेशको नाम र राजधानी अझै टुङ्गो लाग्न सकेका छैन । हुन त प्रदेश सरकारबाट पटक पटक प्रयास भयो। तर बहुमत नपुग्दा नाम र राजधानी तोक्न ठूलो चुनौती बनेको छ ।
नाम र राजधानीसमेत टुङ्गो लगाउन नसकेपछि प्रदेश सरकारको जताततै आलोचना भइरहेको छ । बुधवार प्रदेश सभाले तेस्रो वार्षिकोत्सव मनायो। वार्षिकोत्सव समारोहमा शुभकामना मन्तव्य राख्दै सत्तारुढ दलका साँसद तथा मन्त्रीहरूले तीन वर्ष उपलब्धिमूलक रहेको दावी गर्छन । तर उपलब्धि भन्दा पनि भाषण बढी भएको प्रतिपक्षी दलका साँसदहरूको आरोप छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाबाट बनेको विधेयक, नीति एवं कानुन अन्य प्रदेशको लागि समेत नजिर बन्ने किसिमले काम गर्न सुझाव दिए ।
उनले भने, ‘प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकार तथा विकासका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्छ।’ प्रदेश सभाले जनताप्रतिको इमान्दारिता बहन गर्दै आएको र अगामी दिनमा पनि अझ बढी जिम्मेवार भएर काम गर्ने उनले विश्वास व्यक्त गरे। मुख्यमन्त्री लालबाबु राउतले सत्तापक्षसँगै प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे। प्रदेशलाई केन्द्रले कमजोर बनाएको भन्दै यो लडाईमा प्रदेश एक्लै भएको उनले बताए । ‘केन्द्रले अधिकारमाथि अतिक्रमण गर्न खोज्दा करिव एक दर्जन मुद्दा हालेका छौं,’ उनले भने, ‘अन्य प्रदेशका मुख्यमन्त्रीले समेत तपाईहरू नै हो, यो मुद्दा त गर्दिनुस्। ओली जीलाई अरु कसले सम्झाउन सक्छ भन्छन्।’ संसद विघटन विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुन भन्दै एकजुट भए ओली नेतृत्वको सरकार एक घण्टा पनि नटिक्ने उनले दावी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानलाई खेलाँची बनाएको बताए । ‘संविधानको औचित्य समाप्त गर्न खोज्दै छ,’ उनले भने, ‘पाँच वर्षभित्र संसद विघटन गर्ने अधिकार छैन । ओलीको सन्की पाराले उपलब्धि गुम्ने खतरा बढेको छ ।’ उनले अन्य प्रदेशको तुलनामा विकास निर्माण पनि यस प्रदेशमा बढी भएको दावी गरे। उनले स्रोत साधनको अभावका बाबजुद पनि धेरै महत्वपूर्ण कामहरू गरेको बताए । उनले भने, ‘जहाँ जानुस्, विकास निर्माणको काम भएको छ भने त्यो प्रदेश सरकारले गरेको हो।’ यस्तै भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले विभिन्न उतारचढाव र अवरोधका बाबजुद पनि प्रदेश सरकारले विकास निर्माणको काम गरिरहेको बताए ।
तपाईको प्रतिक्रिया !!