जनकपुरधाम:प्रदेश नं २ को प्रथम आवधिक योजना पुस्तक सार्वजनिक गरिएको छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्रथम आवधिक योजना पुस्तक सार्वजनिक गर्नुभएको हो । आयोगद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरमा आयोजित कार्यक्रममा उहाँले पहिलो आवधिक योजना र ‘नेपाल प्रोभिन्सियल प्लानिङ बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स’ सार्वजनिक गर्नुभयो ।
सो अवसरमा उहाँले पहिलो आवधिक योजनाले प्रदेशको आगामी पाँच वर्षभित्र गर्नुपर्ने विकासको लक्ष्य निर्धारण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पुस्तकमा प्रदेश सरकारले गर्ने कामको विस्तृत विवरण समेटिएकाले आगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्न सहज हुनेछ ।”
मुख्यमन्त्री राउतले पछिल्लो तीन वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी दिनमा गौरवको योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । उहाँले प्रदेशको गौरवकै योजनाको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको उल्लेख गर्दै यसले प्रदेशको समग्र स्वास्थ्य क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठान मात्र नभई जिल्लास्थित अस्पताललाई समेत जनताको भरोसाको केन्द्र बनाउन आफू लागि परेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेशको शैक्षिक अवस्था सुधारका लागि सङ्घीय नीति बाधक रहेको उल्लेख गर्दै हाललाई विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा प्रदेशमा कृषि र प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारीसमेत अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले नीति आयोगमा पदाधिकारी नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा भोगेन्द्र झासहितको टोलीले गर्दै आएको कामको प्रशंसासमेत गर्नुभयो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले आयोगले आवधिक योजना सार्वजनिक गरेको, प्रदेशको प्रोजेक्ट बैंक निर्माणको कार्यलाई अघि बढाएको र प्रदेशको गौरवको योजना समेटेर केही महिनाभित्रै प्रोजेक्ट बैंकसमेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुबाडी, कानून सचिव टीकाराम पाण्डेसहितको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया !!