जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई एउटा डोम समुदायका छोरालाई काँधमा बोकेर हिँड्न चुनौती दिएका छन् ।
सोमबार ४०० केभी ढल्केवर सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘खत्वे, चमार, दसाधका छोरा छुन सक्नुहुन्न । त्यसलाई आफ्नो सन्ताजस्तो देख्न सक्नुहुन्न अनि मधेसका कुरा गर्नुहुन्छ । ती खोक्रा नारा लगाएर हुँदैन । उर्बर भूमि मधेसको विकास गर्नुस् ।’
प्रधानमन्त्री ओली तराई मधेसमा सिँचाइका लागि केही दिनभित्रै सुनकोशी मरिण डाइभर्सन शिलान्यास गर्ने समेत जानकारी दिए । सो आयोजनाबाट तराई मधेसका उब्जनीयोग्य जमिन सिँचाइका लागि असाधारण योगदान पुग्ने र २८ मेगावाट विद्युत समेत उत्पादन हुने उनको भनाइ थियो ।
‘केपी ओली मधेस विरोधी उसैले बाटो बनाउँछ, ढल बनाउँछ, सिँचाइका लागि मधेसमा कोशी ल्याउँदैछ,’ उनले भने, ‘तपाईँहरुले उहिले सुन्नु भएछ भगिरथले गंगा ल्याउनुभयो, हामीले पनि तराईको खेत सिँचाइका लागि पहाड छेडेर कोशी ल्याउँदैछौँ ।’
तपाईको प्रतिक्रिया !!