धर्मेन्द्र साह । रौतहट । दिउँसोको १२ बज्दा समेत गौर भन्सार क्षेत्र सुनसान छ । टंगा जोत्ने मजदुर यात्रुको प्रतिक्षामा देखिन्छन्। टेम्पुहरू इन्जिन स्टार्ट नै गर्न पाउँदैनन्। प्राय व्यस्त रहने भन्सारमा तैनाथ प्रहरीका जवानहरू पनि कुर्सीमा बसेका देखिन्छन्। भन्सार नजिकै खोलिएका कतिपय पसलहरू बन्द भएको धेर भइसक्यो ै । कुनै बेला निकै चहलपहल हुने गौर बजारको भन्सार क्षेत्र दिउँसै सुनसान देखिन्छ । केहि गुम्ती पसलमा लागेको ताल्चामा खिया लाग्न थालेको छ । गौर नगरपालिका ३ बस्ने रंजित साहको आफ्नै रेडिमेड कपडा पसल छ । कुनै समय गौर भन्सार कार्यालय नजिकै रहेको रंजितको लक्ष्मी रेडिमेड पसल अहिले गौरको मध्य भागमा सारिएको छ । भारतीय ग्राहकलाई लक्षित गर्दै खोलिएको उक्त पसल ग्राहक आउन छाडे पछि सारिएको हो। कोरोना महामारीसंगै बन्द गरिएको सीमाना लामो समयसम्म बन्द रहेपछि सीमावर्ती क्षेत्र सुनसान छ । व्यापार शून्यमा झरेको छ । लक्ष्मी रेडिमेड पसलका संचालक रंजित साहले ग्राहक आउनै छोडेपछि पसलको स्थान परिवर्तन गर्न‘परेको बताउँछन्।
‘कोरोना माहामारी पछि सबै क्षेत्र बिस्तारै खुल्दै गएपनि सीमानाका खुल्न नसक्दा भारतीय ग्राहक नेपाल आउन सकेका छैनन्। यस्तो अवस्थामा पसल खोलेर बस्नुको अर्थ भएन,’ उनले भने। लकडाउन खुकुलो हुँदै गएपछि करिब एक महिनासम्म पसल खोलिए पनि ग्राहक नाअएपछि बाध्य भएर स्थान छोड्नु परेकोमा उनी दुखी छन्। भारतीय ग्राहकलाई मन पर्ने र बिक्री हुने कपडाहरू छन्, ग्राहक नआउँदा ती सामानहरू बिक्री हुने आशा घट्दै गएको उनको भनाइ छ । उनले अरु केही साथीहरू पनि पसल बन्द गर्ने अवस्थामा पुगेको दावी गरे। नाका पूर्णरुपमा नखुल्दा ११ महिनादेखि बन्द रहेका पसलका सटरमा लागेका ताल्चामा खिया लाग्न थालेको हो। कोरोना महामारी सुरु भएपछि भारतसँग जोडिएका नाका बन्द भए ।
अहिले सबै क्षेत्र खुला हुन थाले पनि नाका पूर्णरुपमा खुलेका छैनन्। नाका पूर्णरुपमा नखुल्दा सीमा क्षेत्रका बासिन्दा र व्यापारी बढी समस्यामा छन्। नेपाल भारतका केही नाकाहरू पैदल यात्रीको ओहोर दोहोरको लागि खुल्ला गरिए पनि गौर बैरगीनिया नाका भन्ने पुर्णरुपमा ठप्प हुदा ब्यापारिक कारोवारमा ठुलो समस्या देखिएको छ । विकास साहको घर भारतको जमुवा हो तर उनी लामो समयदेखि गौरमै ब्यबसाय गरी बस्दै आएका छन्। लकडाउनको समयमा पूर्ण रुपमा ठप्प भएको उनको पसल लक्डाउन खुले पनि गति लिन सकेको छैन । पसलले गति लिन नपाए पछि उनी अहिले छोटो दुरीमा चल्ने इ रिक्सा चालाउन थालेका छन्। उनको पसल भन्ने खुल्लै हुन्छ । अहिले पसलमा ग्राहकको भीड घटेपछि उनकीे श्रीमतीले पसल चलाउने गरेको उनी बताउँछन । ‘कोरोना महामारी पूुर्व दुई जनाले समेत धान्न नसकेको ग्राहकको भीड अचेल छैन । सीमा खुल्न नसकेपछि भारतीय ग्राहक नेपाल आउन सकेका छैनन्। कहिलेकाहीँ मात्रै बिक्री हुन्छ,’ उनले दुःख व्यक्त गरे। उनी बिक्री घटेपछि साहुबाट लिएको ऋणको ब्याज समेत तिर्न नपाएकोमा चिन्तित छन्। रौतहटको इश्नाथ नगरपालिका ५ मोतीपुर निवासी शेख फैजे आलम दुई बर्ष अघि बैदेशिक रोजगारबाट फर्केपछि भारतीय नम्बर प्लेटका एक टेम्पु लिए ।
उनले गौर बैरगीनिया नाकामा टेम्पु चलाएर जीबिका चलाउँदै आएका थिए । लामो समयको सीमा बन्द पछि उनको टेम्पु बिग्रेको छ । उनले परिवारको सहारा टेम्पु बन्द हुनु र बिग्रनुको मुख्य कारण पनि निरन्तर सीमा नाका बन्दलाइ नै मान्छन्। सीमा बन्द भएपछि न यात्री छ न त नेपाल भित्र गाडी चलाउन छुट, अनि थन्केको गाडी राख्दाराख्दै बिग्रिहाल्यो– उनले भने। गौरमा केही सीमित क्षेत्रमा मात्रै भारतीय नम्बर प्लेटको टेम्पुहरू चल्ने छुट रहेको छ । मुख्य सीमा नाका बन्द भएपनि कुनै बेला चोर बाटो भनिएका बाटोहरू खुला रहेको छ । दैनिक उपभोगमा आउने सामग्री खरिदको लागि ग्रामिण क्षेत्रका स्थानीयहरूले छेउको सीमाना भएर कष्टकर पैदल यात्रा गर्न थालेपछि गौर बजारमा रहेका होटलहरू समेत प्रभावित भएको छ । गौर बैरगीनिया मुख्य सडक खण्डमा शिवानी मिठाइ पसल रहेको छ ।
तर मिठाइ पसलमा ग्राहक भने कमै छ । होटल संचालक शिवानी साहले निरन्तरको सीमा नाका बन्द हुँदा ब्यबसायी धराशायी बनेको बताउँछन्। ‘सीमा खुलेका बेला भारतीय नागरिक पर्याप्त आउँथे। नेपालीहरू पनि यही बाटो हँुदै बैरगिया जान्थे , त्यो बेलामा पसलमा ग्राहकको भीड हुन्थ्यो। सामान बेच्न भ्याईनभ्याई थियो। अहिले ब्यापार आधामा घटेको छ,’ उनले भने। तर उनले सीमा नाका नखोलेकोमा सरकार माथि आक्रोश समेत व्यक्त गरे। ‘बजार ब्यबसाय खुलिस्क्यो, जनजीवन सहज हुन् लागेको छ तर नाका नाखोलिनुको कारण थाहा छैन । यो सरकारको सरासर बदमासी हो’, उनले आरोप लगाए । सीमा नाका खोल्न रौतहटमा निरन्तर आन्दोलन भएपनि नाका अझै खुल्न नसकेपछि जनजीवन असहज हुदै गएको हो।
तपाईको प्रतिक्रिया !!