टुडे एक्सप्रेस । जनकपुरधाम । जनकपुरस्थिथत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ । मंगलवार कार्यालयमा अख्तियारको टोलीले छापा माररे घुस रकमसहित कार्यालय सहयोगी र एक दलाललाई पक्राउ गरेपछि लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।
कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरू स्थगित गरिएको जनाएका छन् । कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले कार्यालयमा छापा माररे घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई मंगलवार साँझ पक्राउ गरेको थियो ।
दलालबाट कार्यालय सहयोगीलाई रकम लिन लगाएका कार्यालयका छैठौं तहका कर्मचारी अनिल गिरी भने फरार भएका छन्। उनी बुधवार कार्यालय समेत आएनन् । कार्यालय सहयोगीबाट २ लाख २३ हजार ८२० रुपैयाँ र दलाल भगत ५० हजार रुपैयाँ अख्तियारको टोलीले बरामद गरी उनी दुबै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बर्दिबास कार्यालयको हिरासतमा राखेको छ ।
तपाईको प्रतिक्रिया !!