टुडे एक्सप्रेस । जनकपुरधाम । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी पुनः अनसन सुरु गरेका छन्। कर्मचारी हकहित संरक्षण संघर्ष समितसँग कलेजले गरेको सम्झौता कार्यान्वयन नगरेपछि कर्मचारीहरू रिले अनसन सुरु गरका हुन् े । संघर्ष समितिका संयोजक उमेश यादवले माघ ५ गतेदेखि रिले अनसन सुरु गरेको जानकारी दिए । रिले अनसनले माग पुरा नभए समितिले अर्को चरणको आन्दोलन एक महिना पश्चात घोषणा गर्ने उनले बताए । विभिन्न ट्रेड युनियन र कलेज प्रशासनबीच तीन बुँदे सम्झौता भएपनि कार्यनव्यन नगरेकोे उनको गुनासो छ ।
‘मंसिर १३ गते कर्मचारी र कलेज प्रशासनबीच तीन बुंदे सम्झौता भएको थियो। कलेजले सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको थियो,’ उनले भने, ‘तर डेढ महिना बित्न लाग्दासमेत कुनै वास्ता गरेका छैन्। त्यसैले बाध्य भएर पुनः आन्दोलन सुरु गर्नु परेको छ ।’ कलेज संचालक पक्षले पटक पटक सम्झौता गरेपनि कार्यन्वयन नगरेको कर्मचारीहरू बताउँछन्। आन्दोलनरत कर्मचारीसँग भएको सहमति कार्यान्वयन नगरेपनि कलेजलाई सम्बन्धित निकायले दबाब दिन सकेका छैन ।
कर्मचारीहरूमाथि कलेज प्रशासनबाट पटक पटक पीडा दिने काम भइरहेको छ । कलेजमा कार्यरत कर्मचारीहरू तलब भत्ता, सञ्चयकोष, दशैं भत्ता लगायतका सेवा सुविधा नपाएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। तर कलेजले श्रम गरेको तलब भत्ता दिनुको साटो कर्मचारीलाई नै कारबाही गरेको छ । कलेजका दुई कर्मचारीले असोज १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनसन बसेका थिए । जसका कारण कलेजका प्रतिनिधिले आधिकारिक ट्रेड युनियनका अध्यक्षहरूको पहलमा सम्झौता गरेपछि उनीहरू अनसन स्थगित गरे। तर सम्झौता कार्यान्वयन नगरेपछि कर्मचारीहरू अन्यायमा परेका छन्। कर्मचारीले विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता पाएका छैनन्।
तपाईको प्रतिक्रिया !!