
धर्मेन्द्र साह । रौतहट । माघे संक्रान्ति सम्पन्न भयो। घर–घरमा लाइ– मुरही, चिउरा र तीलको लड्डु बनाइएको छ । मुसहर वस्तीका बालबालिका जाडोले सिउसिउ काम्दै दिन काट्न बाध्य छिन्। उनीहरूको आङ नागैं छ । खुट्टामा चप्पल छैन । भीषण शीतलहर चलिरहँदासमेत बिना लुगा थरथर काम्दै दिनरात काटट्छन्। चप्पल बिना दलित बालबालिका कुर्कुचाले भूइं टेक्छन्। रौतहटको सदरमुकाम गौर वडा नम्वर २ मा रहेको मुसहर वस्तीमा यो विद्रुप र चरम गरिबीको हालत देखेर मन थामिनसक्नु हुन्छ । रौतहट मात्र होइन्, प्रदेश २ का अधिकांश जिल्लामा माघ लाग्नसाथ शीतलहर चलेको छ । शीतलहर सुरु हुनसाथ अति बिपन्न गरिब वस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । राजदेव माझी ६४ बर्षका छन्। उनी जीवनमा सिरक ओढ्न पाएका छैनन्।
जाडो बढ्यो कि परालको ओछ्यान र ओढ् नलाई पराल गुन्द्रीकै भर हुन्छ । उनको घरमा उनीसहित ६२ बर्षीया श्रीमती, ४ छोरा र बुहारी तथा ११ बालबालिकासहित १७ जना छन्। तर घर भने फुसको छाप्रो भएको २ कोठे मात्रै छ । शीतलहरबाट बच्न पराल र परालले नै बनेको गुन्द्री बाहेक माझीको घरमा केही छैन । उनले बिगत दुई रातदेखि सुत्न नपाएको बताए । ‘पुषमा नलागेको जाडो माघमा लागेको छ, घरमा ओढ्नलाइ दुई सुकुल र ३ कम्बल बाहेक केही छैन, बच्चा र महिलाहरूले त्यही ओढ्छन । म पराल ओढेर सुत्छु,’ टुडे एक्सप्रेससँग झाले पीडा सुनाए । उनको घरमा ११ जना बालबालिकाहरू भए पनि घरमा भने ४ जोडी चप्पल मात्रै रहेको छ । बालबालिकाहरू चप्पल बिना नै चिसो भूईंमा कुर्कुचा टेकेर उभिन्छन्। चनरदिपीया देवी माझी सोही टोलकी महिला हुन्। उनीसँग घरको नाउमा रहेको सानो फुसको झुपडी छ । रुखको पात बटुलेर र परालको जोहो गररे आगो सल्काउदै ताप्छिन्। जडाउडीमा पाएको एउटा सारी र स्वेटर छ ।
त्यसैले उनको प्राण धानेको छ । उनलाई आफ्नो उमेर पनि थाहा छैन । उनको घरमा सुत्न मात्र एउटा खाट छ । अनि खाटमाथि नै एक प्लाष्टिकको डब्बामा थोरै चामल पनि राखिएको छ । खाटमा पराल राखिएको र परालमाथि परालकै गुन्द्री राखिएको छ । तर ओढ्नलाई एउटा पातलो कम्बल छ । उनी त्यही कम्बलको भरमा आफ्नो रात काट्दै आएको बताउँछिन्। ‘गुन्द्री ओढेपछि चिसो लाग्दैन, अनि निदाउँछु । अब धेर दिन चिसो ै पनि छैन,’ उनले भनिन्, ‘पश्चिमतीर हावा चलेपछि चिन्ता लाग्न थाल्छ ।’ रजकलिया देवी माझी उनकै छिमेकी हुन्। पक्की घर भएपनि माथि छाना छैन । जनता आवास कार्यक्रममा उनको घर बनाइए पनि दुई बर्षदेखि घरको छानो हालिदिएका छैनन् ठेकेदारले। उनको सुत्ने र खाना बनाउने कोठा एउटै हो। त्यसैकै छेउमा सानो झुपडी रहेको छ, जसमा उनले खाना बनाउने इन्धन सुकेको पात र दुइटा बाख्रा राखेको छ । उनले त्यही घरमा आफ्नोलागि आगोको ब्यबस्था गरेकी छन् ।
उनी शीतलहर चलेको राति घरमा चिसोले निदाउन नपाएपछि आगो तापेर रात काट्ने गरेको सुनाइन्। ‘गरिबीको पीडा अरुलाई थाहा हँुदैन । यसबर्ष जाडोमा ओढ्न सिरक किन्न भनेर ५ हजार रकम राखेको थिएँ तर बन्दाबन्दीमा सबै पैसा खाएर सकियो, अब काम चल्यो भने सुरजको पापा (श्रीमान)ले अगामी वर्ष किन्छु भनेका छन्– उनले बताइन्। इश्नाथ नगरपालिका २ मा मुसहर वस्ती छ । औरिया हिमालीवास जोड्ने मुख्य सडक खण्डको छेउमै करिब ३५ घर परिवार मुसहर बस्छन्। रमकलिया देवी मुसहर सो टोलकी रथाने हुन्। उनी माघको पहिलो साता चलेको शीतलहरले अति प्रभावित बनेकी बताउँछिन्। ‘घाम लाग्दासम्म ठिक्कै हो, अचेल घाम लाग्न छोडेकोले राति सुत्नै सकिदैन’, उनको पीडा छ । उनको घरमा पनि परालकै ओछ्यान रहेको छ । तर खुट्टामा चप्पल छैन । उनको लागि चप्पल नहुनु कुनै ठूलो कुरो होइन । तर आफ्नो नातीलाई चप्पल किनेर खुशी छन्। ‘मैले यसपाली नातीलाई चप्पल किनी दिएको छु। गौर गएर ८० रुपैयाँमा किनेको चप्पलले नाती खुशी बनेको छ । आफ्नो लागि भने पैसा नपुगेर किन्न सकेकी छैन’, उनले भनिन्। यसरी बर्षेनी पुष माघमा तराईका जिल्लाहरूमा चल्ने शीतलहरले अति बिपन्न मानिएको मुसहर वस्ती नराम्री प्रभावित हुनेगर्छ । शीतलहरको समस्या बर्षेनी भएपनि सम्बन्धित स्थानीय तह तथा जिल्ला विपद ब्यबस्थापन समितिले पूर्व तयारी भने गरेको पाइँदैन । संघीय र प्रदेश सरकार समेत चिसोबाट जोगाउन कुनै पहल गरेका छैन ।
तपाईको प्रतिक्रिया !!