
टुडे एक्सप्रेस । जनकपुरधाम । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को चार शहरमा शनिवार प्रदर्शन र सभा गरेको छ । सिरहा सदरमुकाम, मलंगवा, कलैया र रौतहटमा जसपाले पूर्व निर्धारित कार्यक्रमअनुसार प्रदर्शन र सभा गरेकोे हो। सिरहा सदरमुकाममा जसपा नेतृ रेणु यादवको नेतृत्वमा संसद विघटनविरुद्ध प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरियो। प्रदर्शनमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, नेता प्रकाश अधिकारी, उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरश मण्डल लगायतका े नेता सहभागी थिए । यस्तै प्रदर्शनमा सहभागी हुन गाउँ गाउँबाट कार्यकर्ता उर्लिएका थिए ।
यता, मर्यादाक्रम मिचेर कार्यक्रम गरेको भन्दै राजपा नेता राजकिशोर यादवले कार्यक्रम बहिष्कार गरे। उनको क्षेत्रका धेरै कार्यकर्ता पनि प्रदर्शन र सभामा सहभागी भएनन्। नेता यादवका समर्थक र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मर्यादाक्रमकै विषयमा फोनमा चर्काचर्की भएको अडियो शुक्रवार सार्वजनिक भएको थियो। यस्तै सर्लाहीको मलंगवामा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, कलैयामा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र रौतहटमा नेता अनिल झाको प्रमुख आतिथ्यमा संसद विघटनविरुद्ध प्रदर्शन तथा सभा गरिएको छ ।
मलंगवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले प्रधानमन्त्री ओलीले संविधानको चिरहरण गरको भन्दै आक्रोस पोखे। उनले संविधानमा हुँदै नभएको धारा प्रयोग गररे ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको ओलीले अपहरण गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओलीले मधेसी जनताको अधिकार प्राप्त गरेकोे देख्न चाहेकै छैनन्। आफूहरूले पहिलेदेखि नै ओलीले गोली चलाएर ल्याएको संविधान धेर समय नटिक्ने ै भनेका थियौं । आज त्यही भयो।’ तीन वर्षमै संविधानको घाँटी निमोठ्ने काम ओलीले गरेको उनको भनाइ थियो। यस्तै रौतहटको चन्द्रपुर नगगरपालिकामा भएको विरोधसभालाई सम्बोधन गर्दै जसपा नेता अनिल झाले संसद पुनःस्थथापना नभए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले ओलीले देशमाथि अधिनायकवाद लाद्न खोजेको भन्दै अबको आरपारको लडाइ लड्नका लागि तयार भएर बस्न कार्यकर्तालाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया !!