
कमलेश ठाकुर । जनकपुरधाम । जानकी मन्दिर सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको लगानीमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत भइरहेको सौन्दर्यीकरणको काम करिव ८० प्रतिशत पूरा भएको हो। योजना अन्तर्गत मन्दिरको प्राङ् गनमा ग्रेनाइट लाइट जडान भएको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले लाइटको उद्घाटन गरे। परियोजनाका संयोजक भगवान झाको अनुसार ०७५ मंसिरदेखि सुरु भएको सौन्दर्यीकरण माघसम्म सम्पन्न गर्ने आरजे रञ्जन कम्पनीसंग सम्झौता भएको छ । कुल ६ लाख ७५ हजार बजेटमा सौन्दर्यीकरण अन्तर्गत तीन वटा प्रवेशद्वारको मर्मत सम्भार, मन्दिर परिसर भित्र मार्बल, ग्रेनाइट लाईट एवं जानकी मन्दिरको उत्तर, दक्षिण प्रवेशद्वारमा चरण गंगा निर्माण गर्ने सम्झौता भएको थियो।
अन्डर ग्राउण्ड ढल व्यवस्थापन, रमणीय पार्क र ईनार व्यवस्थापन लगायतको काम पनि भइरहेको छ । सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको भन्दै माघ १५ गतेसम्म सम्पन्न हुने उनले जानकारी दिए । उनका अनुसार प्रवेशद्वार मर्मत सम्भार, मन्दिर भित्र मार्बल र बाउण्ड्री वाल सकिएको छ । चरण गंगाको निर्माण पनि तीब्र गतिमा भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीय स्थलहरूको निर्माण, सरसफाइ, बगैंचा निर्माण गरी हरियाली बनाउने प्रदेश सरकारको योजना रहेको छ । जानकी मन्दिरको सौन्दर्यीकरण निमार्णमा भइरहेको विवादप्रति लक्षित गर्दै मुख्यमन्त्री लाल बाबु राउतले मन्दिरलाई राजनीतिक अखाडा नबनाउन आग्रह गरका छन्। मन्दिर परिसरमा जडान भएको लाइट उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्दिरमा कुनै प्रकारको राजनीति नगर्न उनले सरोकारबला निकायसंग आग्रह गरका हुन् । विकास निर्माण गर्दा कमी कमजोरी भइहरको भन्दै त्यसलाई सुधार गररे जानु पर्ने उनको भनाइ थियो। माघ दोस्रो सातासम्म पहिलो चरणको कार्य सम्पन्न गर्न उनले ठेक्केदारलाई निर्देशन पनि दिएका छन्। पहिलो चरणको कार्य सम्पन्न भए लगतै जानकी मन्दिरलाई थप आकर्षक बनाउन दोस्रो चरणको कार्य सुरु हुनेछ । मुख्यमन्त्री राउतले मन्दिर परिसरमा सवारी र जुत्ता चप्पल प्रतिबन्ध गर्न जोड दिँदै बाहिर त्यसको व्यवस्थापन गर्न सुझाए । ‘थप जनशक्ति र सुरक्षाकर्मी परिचालन गरी सवारी र जुत्ता चप्पल प्रवेश निषेध गर्नुपर्छ,’ उनले भने, ‘बरु रातो कार्पेटमा श्रद्धालुलाई स्वागत गर्ने व्यवस्था गर्नुपर्छ ।’
मन्दिरलाई नियमित सफा राख्न प्रदेश सरकारले सफाई कर्मचारी नियुक्त गर्ने भन्दै सौन्दर्यीकरणको लागी रकमको आभाव हुन नदिने प्रतिबद्धता जनाए । मन्दिरको पूर्व भागमा रहेको पार्क थप आकर्षण बनाउनु पर्ने भन्दै बाउण्ड्री बला पनि थप आकर्षक बनाउन उनले सुझाव दिए । मन्दिरको पछाडि भागमा रहेको सानो घर टहरा भत्काउनु पर्ने भन्दै मन्दिर भित्र श्रद्धालुलाई कुनै प्रकारको असहज महसुस नहुने गरी निर्माण गर्न उनले निर्देशन समेत दिए ।
तपाईको प्रतिक्रिया !!