टुडे एक्सप्रेस । जनकपुरधाम । नेपाललाई संघीय गणतन्त्रसहितको हिन्दुराष्ट्र कायम गर्न‘पर्नेमा राष्ट्रिय एकता अभियानका वक्ताहरूले जोड दिएका छन्। शुक्रवार जनकपुरधाममा राष्ट्रिय एकता अभियानको सम्पन्न संघीय गणतन्त्रका लागि प्रथम राष्ट्रिय सम्मेलन कार्यक्रमका वक्ताहरूले मुलुकलाई धर्मनिरपेक्ष बनाई हिन्दु धर्म संस्कृतिमाथि प्रहार गरिएको भन्दै संघीय गणतन्त्रसहितको हिन्दुराष्ट्र कायम गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले मुलुकलाई संघीय गणतन्त्रसहितको हिन्दुराष्ट्र कायम नगरसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
उनले विदेशी डलरको लालचमा मुट्ठीभर हिन्दु विरोधी राष्ट्रहरूका दलाली गर्ने नेताहरूले संघीयताको नाममा विश्वमा एकमात्र हिन्दु राष्ट्रलाई रातारात धर्म संस्कृतिमाथि प्रहार गर्दै धर्मनिरपेक्ष राष्ट्र बनाएको बताए । उनले हिन्दु धर्म संस्कृतिमाथि प्रहार भएपछि त्यसको संरक्षणार्थ आन्दोलनको रुपमा संविधानको प्रतिलिपि जलाएर राष्ट्रिय एकता अभियान आन्दोलनको रुपमा अघि बढाइएको बताए । उनले मुलुक हिन्दुराष्ट्र नभएसम्म आन्दोलन सशक्त बनाउँदै लग्ने बताए । अध्यक्ष यादव मुलुकको राष्ट्रियता र पहिचान कायम गर्न बदनियतपुर्ण तरिकाले लेखिएको संविधानमा संशोधन गरी धर्मनिरपेक्ष हटाएर हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राखे । उनले भने– हिन्दुराष्ट्र कायम नभए हाम्रो अस्तित्व र पहिचान दुवै गुम्नेछ । तसर्थ यसका लागि सशक्त रुपले अगाडी बढ्नुको विकल्प छैन ।’
उनले आन्दोलनलाई अगाडी बढाउन युवाहरूको प्रमुख भूमिकाको आवश्यकता रहेको औल्याए । कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनिता साहले धर्म निरपेक्षको नाममा हिन्दु धर्म संस्कृतिमाथि प्रहार गरिएको भन्दै यसको संरक्षणका लागि सबै एकजुट भएर संघर्षमा लाग्नु पर्ने सुझाइन्। उनले भनिन्,‘राजनीतिक चलखेलमा केही नेताहरूले आफ्नो स्वार्थ पुरा गर्न सनातनदेखि हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई धर्म निरपेक्ष बनायो। यो धर्म संस्कृतिमाथि प्रहार हो। यसका विरुद्ध लड्ने जिम्मेवारी सबै नेपालीको कांधमाथपिएको छ ।’ प्रथम राष्ट्रिय सम्मेलन समितिका संयोजक राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष विवेक कुशवाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जसपाका जिल्ला उपाध्यक्ष सीताराम यादव,अभियानका पर्सा प्रतिनिधि कृष्णा साह, बारा प्रतिनिधि ओमबाबु यादवलगायतका विभिन्न जिल्लाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए । उनीहरूले भ्रष्टाचारमा लिप्त सरकार र केही नेताहरूले आफ्ना राजनीति स्वार्थ पुरा गर्न हिन्दु धर्ममाथि प्रहार गरेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !!