
आशिष विश्वकर्मा । सिरहा । प्रधानमन्त्री केपी ओली नेतृत्वका नेता तथा उप–प्रधानमन्त्री ईश्वर पोखरेलले अरु कुनै विकल्प बाँकी नरहेपछि सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा बिघटन गरी निर्वाचनमा गएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहाले सोमबार सिरहाको चोहर्वामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेकपाका सचिवालय सदस्य समेत रहेका उनले निर्वाचित प्रधानमन्त्रीलाई षडयन्त्रमूलक ढंगले घेराबन्दीमा परोर काम गर्न नदिने र मुलुकलाई गम्भीर संकटमा धकेल्ने देखेपछि सरकारले बाध्यात्मक अवस्था संसद बिघटन गरी जनतामा जाने निर्णय गरेको बताए । ‘जनताको ६४ प्रतिशत मत पाएर निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हात खुट्टा बाँधेर कामै गर्न नदिने, हरेक कुरामा लेनदेनको कुरा गर्ने, भागवण्डा खोज्नेमात्र काम हुँदै आयो’, उपप्रधानमन्त्री पोखरेलले भने ।
उनले जनताको हितमा,राष्ट्रको हितमा काम गर्न खोज्दा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री बिरुद्ध आरोपपत्र तयार पार्ने,संसदमा अविश्वासको प्रस्ताब दर्ता गराउने, राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने जस्ता षडयन्त्र गरेको दावी गरे । सबै षडयन्त्रहरूलाई चिर्न र मुलुकमा राजनीतिक ‘कू’ लाई रोक्न सरकारले यस्तो निर्णय लिएको उनको कथन थियो । निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार ५ बर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने उनको तर्क रहेको छ । अवसरवादी हर्कत गर्दै अन्तरबिरोधमा खेल्ने र पार्टीको सत्तामा नपुगेको कुण्ठा बोकेका नेताको गठबन्धनका कारण पार्टी एकता भएको ३ बर्ष नपुग्दै बिभाजनको अवस्थामा पुगेको बताए ।
उनले प्रचण्ड माधव समूह दुईवटा विषयमा सहमत भए अझै पार्टी एकता जोगिने उपप्रधानमन्त्री पोखरेलले जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्री बिरुद्ध तयार पारेको आरोपपत्र फिर्ता लिने र निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहन सक्छ ।’ पार्टी भित्र देखिएको समस्या छिटै समाधान हुने बताउँदै अब पार्टीबाट गलत प्रबृति भएका व्यक्तिहरू बाहिरिएपछि पार्टी अझ मजबुत र एक ढिक्का भएर अघि बढ्ने बताए । भौतिक पूर्वाधारको विकास बिना मुलुकको बिकास सम्भव नभएकाले हुलाकी सडक,मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम रेलमार्ग लगायतका भौतिक पूर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाएको उल्लेख गर्दै यही सरकारको पालामा ती कार्यहरू पूरा हुने दाबी समेत गरे । शहरी विकास मन्त्री प्रभु साहले प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री स्वंयम् खुशी नभएपनि बाध्यात्मक अवस्थामा गर्न‘ परेको दाबी गर्न‘हुँदै सरकारले घोषणा गरेको निर्वाचनले नै मुलुकलाई निकास दिने बताए ।
संसद बिघटन गर्न‘ प्रधानमन्त्रीको रहर नभई बाध्यता भएकाले यसबाट मुलुक ठूलो दुर्घटनाबाट जोगिएको दाबी गर्दै छलछाम र दलाली गरेर सत्तामा पुग्ने नेताहरूको सपना पूरा नभएकाले सरकार र प्रधानमन्त्री बिरुद्ध भ्रम फैलाउने काम भइरहेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले संसद बिघटन गरी जनताको बीचमा जाने निर्णय आफैमा लोकतान्त्रिक पद्धति भएकाले निर्वाचनबाट कोही डराउनु पर्ने अवस्था नरहेको जिकिर गर्दै उनले प्रधानमन्त्रीले चालेको कदम आफैमा आत्महत्या सरह भएपनि यसले मुलुकलाई गम्भीर संकटबाट जोगाउन काम गरेको मन्त्री साहको जिकिर रहेको थियो । भेलामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले वर्तमान सरकारले गरेको लोकप्रिय कामबाट हतोत्साहित बनेको नेताहरू देशी बिदेशी शक्तिहरूको इसारामा प्रधानमन्त्री बिरुद्ध षडयन्त्र गरेका कारण यस्तो स्थिति आएको बताए । उनले सरकारले पछाडि परेको तराई मधेशको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना यही सरकारको पालामा पूरा हुने दाबी गरे । भेलामा नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुबीर महासेठ, नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, नेकपाका केन्द्रीय सदस्य रामशंकर यादवले समेत सम्वोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया !!