
टुडे एक्सप्रेस । जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ३ का बासिन्दाले सरकारले पठाएको रकमले स्थानीय मिथिलेश्वर स्वास्थ्य चौकीलाई नै स्तरोन्नती गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। आईतवार झाडु बोकेर प्रदर्शन गर्दै वडा ३ का बासिन्दाले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। सरकारले मिथिलेश्वर स्वास्थ्य चोकीलाई १५ शैय्याको आधारभुत अस्पतालमा स्तरोन्नती गर्न नगरपालिकालाई बजेट उपलब्ध गराएको छ ।
तर नगर प्रमुख अनिल यादवले आफ्नो घर भएको वडा २ मा नयाँ अस्पतालको शिलान्यस गरेकाले वडा ३ का बासिन्दा विगत दुई सातादेखि आन्दोलित छन्। उनीहरू चारदिन अगाडी प्रमुख यादवलाई कार्यालयमै थुनेका थिए । तरपनि उनी सरकारले तोकेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न तयार छैन ।
वडा ३ का अध्यक्ष कृष्णकुमार बसन्तको संयोजकत्वमा ५०१ सदस्य आन्दोलन संघर्ष समिति समेत बनाएको छ । वडाध्यक्ष बसन्तले तोकिएको स्वास्थ्य मिथिलेश्वर स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी आधारभुत अस्पताल बनाउने सहमती प्रमुख यादवले नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले टुडे एक्सप्रेससँग भने, ‘गाउँमा निरन्तर आन्दोलन गर्दा प्रमुख यादवले टेरेनन्। त्यसैले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । सरकारले तोकेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गराउन लागि हामी जस्तोसुकै आन्दोलन गर्न पछि पर्ने छैनौं ।’ प्रमुख यादव शक्तिको दुरुपयोग गरिरहेको उनको गुनासो छ ।
तपाईको प्रतिक्रिया !!