![](https://etodayexpress.com/wp-content/uploads/2020/12/133334360_1424326664570662_5436307721871438698_n.jpg)
कमलेश ठाकुर । जनकपुरधाम । बिहीवार जनकपुरधाम ४ शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टमा आगलगी हुँदा झण्डै ३ करोड बढीको क्षति भयो। यतिधेरै क्षति हुनुको मुख्य कारण हो– नजिकै रहेको उपमहानगरपालिकाको बारुणयन्त्र समयमा नपुग्ने। जब आगो लाग्यो अनी थाहा भयो कि दुबै बारुणयन्त्र बिग्रेको रहेछ । बारुणयन्त्र मर्मत गराएर नराखेको भन्दै अहिले मेयर लालकिशोर साहको व्यापक आलोचना भइरहेको छ ।
आगलगीबाट व्यावसायीको ठूलो क्षति भएपछि बल्ल जनकपुरधामले बारुणयन्त्र मर्मत गराउने तयारी गरको बुझिएको छ । शुक्रवार जनकपुरका केही मिस्त्रीबाट मर्मत गराउने प्रयास गरियो। प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार खड्काले बारुणयन्त्र मर्मतका लागि यहाँ दक्ष मिस्त्रीको अभाव देखिएको बताए । उनले भने, ‘यहाँका मिस्त्रीले बारुणयन्त्र हेरेपछि यहाँ मर्मत हुन नसक्ने भन्यो। काठमाडौं लगेर मर्मत गराउन मिस्त्रीले भनेका छन्।’
‘म यहाँ आएको मात्र एकहप्ता भएको छ’, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘बिग्रेको कुरा मलाई थाहै थिएन ।’ अब केही दिनभित्रै बिग्रेका एउटा बारुणयन्त्र काठमाडौं लगेर मर्मत गराउने उनले टुडे एक्सप्रेसलाई जानकारी दिए । अर्को बारुणयन्त्र धेरै पुरानो भएको उनको भनाइ छ । यता, जनकपुरधामकी उपमेयर रिता कुमारी मिश्रले बारुणयन्त्र बिग्रिएको कुरा आगलागी पश्चात सञ्चार माध्यमबाट मात्र थाहा पाएको बताइन्। उनले विवाहपञ्चमीको चौथो दिन पुस २ गते भएको तिलोकोत्सवका लागि मन्दिर सरसफाइ गर्दा बिग्रेको जानकारी कर्मचारीबाट पाएको बताइन् ।
‘बारुणयन्त्र बिग्रेको कुरा पहिले कर्मचारीले जानकारी नै गराएनन्’ उनले भनिन्, ‘बारुणयन्त्र बिग्रेपछि सूचना प्रकाशन गर्नुपर्छ । तर कर्मचारीका कारण हामी सूचना निकाल्न चुकेकै हो।’बारुणयन्त्र बिग्रेको कुरा थाहा पाएर पनि मर्मत नगराएको आरोप निराधार रहेको उनले भनिन् । उनका अनुसार एउटा करिव डेढ दशक र अर्को दुई दशक पुरानो बारुणयन्त्र रहेको छ । डेढ दशक पुरानो बारुणयन्त्र भने केही अगाडिसम्म चालु अवस्थामै थियो। बिग्रेको कुरा कर्मचारीले जानकारी गराएको भए तत्कालै मर्मत गराएर राखिन्थ्यो –उनले भनिन् ।
तपाईको प्रतिक्रिया !!