टुडे एक्सप्रेस । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को हेरफेर र विस्तार गरेका छन् । पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि प्रचण्ड– नेपाल समूहका सात मन्त्रीले राजीनामा दिएका थिए । रिक्त मन्त्रालयमा मन्त्री थप गररे प्रधानमन्त्री ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद् विस्तार गरे ।
पुनर्गठित मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् । गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् । जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन्। यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।
भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि र कृष्ण गोपाल श्रेष्ठ शहरी विकास मन्त्री भएका छन् । प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाएका छन्। महिला बालबालिका मन्त्री बनेकी महतो नेता रघुवीर महासेठकी श्रीमती हुन् । संसद् विघटनपछि पार्टी विभाजन भएदेखि नै उनी ओली समूहमा सक्रिय थिइन् । उनका श्रीमान रघुवीर भने प्रचण्ड–माधव नेपाल समूहमा लागेका थिए । तर दुई दिन नबित्दै रघुवीर पनि ओली समूहमै फर्किए । सोही कारण उनका श्रीमती मन्त्री बन्न सफल भएकी छन् । यता, शहरी विकास मन्त्री बनेका प्रभु साह पनि प्रचण्डसँग नजिक थिए । प्रचण्डले नेकपाको अध्यक्ष माधव नेपाललाई बनाएपछि साह असन्तुष्टि पोखेका थिए । उनले विज्ञप्ति समेत निकालेर दुई अध्यक्षीय प्रणालीको विरोध गरे । त्यसपछि उनलाई ओलीले आफ्नो समूहमा तानेर मन्त्री बनाएको बुझिएको छ ।
तपाईको प्रतिक्रिया !!