
श्रीकान्त झा । जनकपुरधाम । जनचेतना फैलाउने उद्देश्यले जनकपुरधाममा ‘डमी ट्राफिक प्रहरी’ राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्न जनकपुरधामका २ स्थानमा सचेतनामूलक जानकारीसहितका डमी ट्राफिक प्रहरी राखेको हो। डमी ट्राफिक प्रहरीको हातमा ट्राफिक नियमको पालना गरौं, नेपाली र मैथिली दुवै भाषामा लेखिएको पोष्टर राखिएको छ ।
ट्राफिक प्रहरीले स्थानीय व्यवसायीहरूको सहकार्यमा डमीहरू मुरलीचोक र भानुचोकमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन् । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले वताए ।
नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने विश्वास व्यक्त गरिएको छ । ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्न‘ हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास समेत लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता मकेन्द्र मिश्रले बताए ।
तपाईको प्रतिक्रिया !!