
काठमाण्डौ । नेपाली कांग्रेस, नेकपा र जसपाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन अलोकतान्त्रिक र संविधानविरोधी कार्य भएको निष्कर्ष निकालेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको तीन दलको बैठकले संसद् विघटनविरुद्ध थप रणनीति तय गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीविरुद्धको मोर्चावन्दीमा दाहाल–नेपाल समूहलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । ओलीको असंवैधानिक कदमविरुद्धको संघर्षमा साथ दिने देउवाले बचन दिएका हुन् । संवैधानिक परिषद्मा देउवाका मान्छे समेत परेपछि ओली–देउवा सहकार्यको चर्चा चलेको थियो। तर,ओलीविरुद्धको मोर्चाबन्दीमा साथ खोज्दै सानेपा पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल लगायतका नेतालाई देउवाले सहयोग गर्ने बचन दिएका छन्।
बैठकपछि नेपाल कम्युूनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताए । उनले संसद विघटनको निर्णय विरुद्ध तीनवटै पार्टीले एकतावद्ध भएर अगाडी बढ्ने समझदारी पनि भएको जानकारी दिए । कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताए ।
तीनै दलको केन्द्रीय कार्यसमिति बैठक पश्चात् पुनः तीन दलको बैठक बसेर प्रधानमन्त्री ओलीको असंवैधानीक कदमविरुद्ध कस्तो कदम चाल्ने भन्ने रणनीति तय गर्ने लेखकले जानकारी दिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.शशाकं कोइराला र पूर्णबहादुर खड्का, नेताहरू डा.मिनेन्द्र रिजाल, रमेश लेखक लगायत सहभागी थिए । नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन लगायत सहभागी थिए । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर,शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित थिए ।
जसपाले देशभर प्रदर्शन गर्ने
प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पुस ८ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेकोे हो । यस्तै थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न मंगलवार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । थप संघर्षबारे मंगलवार को बैठकबाट निर्णय लिने पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारीको संज्ञा जसपाले दिएको छ ।
तपाईको प्रतिक्रिया !!