
जनकपुरधाम । पुस ६ गते । महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी उपमेयर रमिता प्रधानले आफ्नो श्रीमानलाई फसाउन खोजेको गुनासो गरेकी छन् । वडा ६ मा घर भएकी उनले पत्रकार सम्मेलन गरी यस्तो गुनासो गरेकी हुन् । तीन दिनअगाडी उनी बस्ने घरभन्दा करिब ३ सय मिटर दुरीमा रहेको उनकै शौचालयमा मुख बाँधिएको अवस्थामा एक बालिका फेला परेकी थिइन् । अपहरणमा परेको हल्ला चलेपछि प्रहरी घटनास्थलमा पुगेर खोजतलास गर्दा सडकमा ती बालिकाको चप्पल फेला परेको थियो। सोही आधारमा खोज्दै जाँदा उनी शौचालयमा भेटिन् । पीडित परिवारले उपमेयर प्रधानका श्रीमान विनोद गामीसहित तीन जनामाथि अपहरण तथा बलात्कारको प्रयासको आरोप लगाएका छन्।
प्रहरीमाथि तीनै जनाविरुद्ध उजुरी समेत दर्ता भइसकेको स्रोतले जनाएको छ । तर उपमेयर प्रधान भन्छिन्, ‘घटनामा मेरो श्रीमानको संलग्नता छैन । फसाउन खोजिएको छ ।’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘पीडित भनिको परिवारलाई उनका आफ्नै आफ्न्तसँग झगडा भएको थियो। शौचालयमा भेटिएकी बालिकाकी आमाले अस्पतालबाट झण्डै २ लाखको बिल बनाएर पेश गरेकी थिइन्। तर त्यो नक्कली भएको ठहर प्रहरीले गर्यो। अनी उनी दावी गरेको क्षतिपुर्ती पाउन सकिनन् । त्योबेला सहयोग नगरेको भन्दै मेरो श्रीमानलाई योजनावद्ध तरिकाले फसाउन खोजिएको छ ।
’घटनाको निस्पक्ष छानविन गरी कारबाही अगाडी बढाउन उनले माग समेत गरिन्। ‘सरपल्लो प्रहरीमाथि विश्वास छैन’, उनले भनिन्, ‘जिल्लाको टोली घटनास्थलमा आएर छानविन गर्नुपर्छ ।’ उनले पुरानो रिसिबीका कारण आफ्नै दल (जसपा)का केहि नेता फसाउन खोजेको गुनासो गरिन् । उपमेयर प्रधानको पक्षमा वडाध्यक्षदेखि गाउँका अधिकांश व्यक्ति छन्। घटनामा षड्यन्त्रपूर्वक गामीलाई फसाउन खोजेको विरोधमा स्थानीयले पटक पटक प्रदर्शन गरिसकेका छन् । आरोपित गामीसहित तीनै जनाको घटनामा संलग्नता नरहेको स्थानीयको भनाई छ ।
तपाईको प्रतिक्रिया !!