उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङ्गस्थित एक क्रसर उद्योगमा अज्ञात समुहले दुई वटा बम विष्फोट गराएको छ । द कञ्चनजङ्घा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा ६ जनाको संख्यामा आएको उक्त समुहले सोमबार साँझ बम विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुकुन्डो लगाएर उद्योग भित्र प्रवेश गरेको उक्त समुहले विस्फोट गर्नु पूर्व सुरक्षागार्ड स्थानीय ६० बर्षिय कर्णबहादुर तामाङ्गलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको थियो । अज्ञात समूहलाई प्रतिकार गर्न खोज्दा तामाङ्गमाथि कुटपिट समेत भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिमहादुर दहालले बताउनुभयो ।
विस्फोटबाट जेसीवी र क्रसर मेसिनमा सामान्य क्षति पुगेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटबाट करिव एक लाख बराबरको क्षति पुगेको छ । बम विस्फोटको कसैले जिम्मा लिएको छैन । यो क्रसर सगरमाथा लोकमार्ग अन्र्तगतको दियाले–अँधेरी–फोक्सीन्टार सडक खण्डलाई लक्षित गरी स्थापना गरिएको अस्थायी क्रसर उद्योग हो । बिस्फोट भएको वम सुतली हुन सक्ने प्रहरीको अनुमान छ । बिहान ४ बजेको समयमा संकाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस बेल्टार र इलाका प्रहरी कार्यालय बेल्टारले ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया !!