
टुडे एक्सप्रेस । काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई शनिवार समापन गर्दै उनले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन-प्रसारण गर्न आग्रह गरे।
सरकारका प्रवक्तासमेत रहेका उनले भने, ‘जनतालाई सही सूचना दिँदै सभ्य समाज निर्माण गर्न, आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले आचारसंहिता र मापदण्डभित्र रहँदै पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न जरुरी छ ।’ उनले नेपाली पत्रकारिता क्षेत्र उद्ययमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हँदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अबको पत्रकारिता देशको आर्थिक उत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेकोे छ ।
नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । त्यसैगरी रडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजका मेनुका कार्की उपाध्यक्षमा चयन भए । महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य, सहसचिव बिजपाटीका महमल अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी चयन भएका छन् । महासभाले आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणीन्द्र दाहाल, बाह्रखरीका रोबिन पौडेल, अनलाइनखबरका नवीन ढुङ्गाना र नेपालखबरका दीपक भट्टलाई सदस्यमा चयन गरेकोे छ । कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य हुन् । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाले आगामी दिनमा पेशागत सरोकार राख्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विकास गर्ने बताए ।
तपाईको प्रतिक्रिया !!