
टुडे एक्सप्रस । सिरहा । मंसिर २७ गते । गोलबजार नगरपालिका स्वास्थ्य शाखाको फितलो अनुगमनका कारण नगरभित्र दर्जनभन्दा बढी पोलिक्लिनिक तथा अस्पतालहरू विना दर्ता सञ्चालनमा रहेका छन् । संचालनमा रहेका निजी स्वास्थ्य संस्थाहरू दर्ता नभएका र दर्ता भएकाहरू पनि लामो समयदेखि नवीकरण नगराएको पाइएको छ । स्वास्थ्य शाखाको संयोजत्वमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थय कार्यालय सिरहाका प्रतिनिधि तथा संचारकर्मीको सहभागीतामा शुक्रवार अनुगमन गर्दा १० वटा निजी स्वास्थ्य संस्था विना दर्ता सञ्चालनमा रहेको पाइयो। त्यसैगरी ८ वटा नवीकरणको प्रकृयामा रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
गोलबजार नगरपालिका २ का शिव कुमार नायकको क्लिनिक, पुनम कुमारी साहको क्लिनिक, वडा ४ को सत्यम् हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर, विक्रु साहको क्लिनिक, नवीन डेन्टल क्लिनिक विना दर्ता संञ्चालनमा रहेका छन् । यस्तै माँ धमिनी डेन्टल क्लिनिक,वडा ७ का मनोज कुमार यादवको क्लिनिक र हरि केयर क्लिनिकले पनि दर्ता नगराई सेवा सञ्चालन गरेका छन् । उनीहरूले वर्षौदेखि क्लिनिकको रुपमा विना दर्ता विरामीको उपचार गरिरहेका छन् । कतिपयले भर्ना समेत लिने गरेको बताइएको छ । प्रायः राजनीतिक आडमा वा विभिन्न प्रभावका कारण उनीहरू दर्ता प्रकृयामा जान चाहिरहेका छैनन् ।
पुनः नवीकरण गराउनका लागि अजय कम्यूनिटी डेन्टल अस्पताल प्रा.लि., एकता स्मृति पोलि क्लिनिक, शौरभ एण्ड कृष पोलि क्लिनिक, माँ धमिनी हस्टिल प्रा.लि., बेवी ल्याव, भूमिजा हस्ष्टिल र सगरमाथा मोडेल हस्पिटल प्रा.लि.ले प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य शाखा सह–संयोजक पवन पंजियारले जानकारी दिए । उनले भने, ‘वर्षेनी नवीकरण गराउनुपर्ने हुन्छ । त्यसैले अहिले पुनः नवीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’ उनले केही दिन अघि नै सूचना दिएर दर्ता र नवीकरण प्रकृयामा आउने भने अनुसार केही प्रकृयामा आएपनि धेरै अझै प्रकृया बाहिरै रहेको बताए । उनले भने, ‘सवैलाई प्रकृयामा आउन अझै आव्हान गर्छौ । अनुगमनको क्रममा यो पटक उहाँहरूलाई सम्झाई बुझाई गरेका छौं । यदि अटेर गरेमा आवश्यक कार्वाही हुन्छ ।’ अहिले स्वास्थ्य चौकी गोलबजारको प्रमुख सिअहेब सत्यनारायण यादव रहेका छन् ।
तर उनले स्वास्थ्य चौकीकै अगाडि आफु नो निजी क्लिनिक संचालन गरेका छन् । अचम्म त के भने दर्ता समेत छैन । तर पनि सम्बन्धित निकायले कारबाही नगरेको छ ।
तपाईको प्रतिक्रिया !!