टुडे एक्सप्रेस । जनकपुरधाम । सरकार र अभिभावक दुवैको कमजोरीले बालबालिका शिक्षाबाट बञ्चित हुने गरेको जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नामक संस्थाद्वारा आयोजित कोभिड १९ ले शिक्षामा पारेको असर विषयक अन्तरक्रियाका वक्ताहरूले यस्तो धारणा राखेका हुन्। उनीहरूले कोरोनाले शिक्षा क्षेत्रमा सबभन्दा बढी असर गरेको र सरकारको निर्देशनमा विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेपनि विभिन्न कारणले ८० प्रतिशत बढी विद्यार्थी पढ्न नपाएको समेत बताएका छन् ।
नीति आयोगका उप–सचिव दानिकान्त झाले विद्यालय चलेको बखत पनि २० प्रतिशत बढी विद्यार्थी अनुपस्थित हुने गरेको भन्दै कोरोना महामारीका बेला त अधिकतर विद्यार्थी पढ्न नपाएको बताए । उनले भने, ‘अनलाइन कक्षा सञ्चालन त भयो। तर धेरै विद्यार्थी इन्टरनेटको अभावमा पढ्न पाएनन् । धेरैले पढ्ने बेलामा विजुली जाने समस्याले पढ्नबाट बञ्चित भए ।’ अनलाइन कक्षा प्रभावकारी हुन नसकेको उनको भनाई थियो । कार्यक्रममा संकट मोचन माविका प्रअ बलराम प्रसाद साह,राष्ट्रिय मानव अधिकारकी रेखा दत्त, आयोजक संस्थाका अध्यक्ष कमलेश मण्डल र विद्यालयमा अध्ययनरत बालबालिकाले आ–आफ्नो धारणा राखेका थिए । अनलाइन कक्षाका कारण आँखा नै बिग्रेको गुनासो बालबालिकाले गरेका छन् । उनीहरूले कक्षामा पढ्दा जति सिक्छौं, त्यति कुरा अनलाइनबाट सिक्न नसकेको अनुभाव सुनाए ।
अन्तरक्रियामा पत्रकार श्यामसुन्दर शशीले अवधारणा पत्र प्रस्तुत गर्दै प्रदेश २ मा शिक्षाको अवस्था खस्किदै गएको चिन्ता व्यक्त गरे। उनले हुम्लाभन्दा पनि प्रदेश २ को शिक्षा स्तर खस्केको भन्दै यसतर्फ सरोकारबाला निकाय गम्भिर हुनुपर्ने धारणा राखे। उनले बीचमै पढाइ छाड्ने चिन्ताको विषय भएको र कोरोना महामारीमा अध्ययनबीना नै सरकारले अनलाइन कक्षा संचालन गराउँदा पठनपाठन प्रभावकारी नभएको बताएका थिए ।
तपाईको प्रतिक्रिया !!