टुडे एक्सप्रेस । जनकपुरधाम । आन्तरिक पर्यटक बढाउन जनकपुरधामलाई पोखरासंग जोड्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । बिहीबार जनकपुरधाममा पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको कार्यक्रमका सहभागीले आन्तरिक पर्यटक बढाउन जनकपुरधाम–पोखरा जोड्नु पर्ने बताएका हुन् । कार्यक्रममा सहभागीले पर्यटक बढाउन अनेक उपाय बताउनुका साथै गुनासो पनि गरेका छन् । कार्यक्रममा आफ्नो विचार राख्दै व्यवसायी रामवरण यादवले पर्यटक बढाउन जनकपुरधामलाई पोखरासंग जोड्नु पर्ने सुझाब दिए ।
‘पर्यटक बढाउन एउटा क्षेत्रबाट अर्को क्षेत्र जोड्नु पर्छ । जनकपुरधामलाई पोखरासंग जोड्न सक्यौं भने दुबै ठाउँमा पर्यटक बढ्छ,’उनले भने, ‘जनकपुरधाम पोखरा उडान पनि सुरु गर्नु पर्छ । प्याकेजमा बस सेवा पनि सञ्चालन गर्नु पर्छ ।’ होटल व्यवसायी विजय झुनझुनवालाले पयर्टन प्रर्वद्धनका लागि कलेज र विद्यालय लक्षित गरी प्याकेज ल्याउनु पर्ने माग गरे। जनकपुरदेखि पोखराका लागि कम्तीमा एउटा उडान सेवा आवश्यकता रहेको भन्दै प्रदेश सरकारलाई जनकपुरधाममा ट्राभल एण्ड टुरिज्म पढाउने विद्यालय खोल्न आग्रह गरे । मुलुकमा भारतीय पर्यटक बढी आउने गरेको भन्दै सीमा खोल्न ढिलाई नगर्न उनले सुझाए । पोखरी एवं भौतिक संरचनामा प्रदेश सरकारले गरेको लगानीप्रति अंसंतुष्टी जनाउँदै मनिष झाले पर्यटन प्रर्वद्धन तर्फ ध्यानकर्षण गराए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रामचन्द्र कँडेलले नीतिगत समस्यामा सुधार ल्याउने प्रतिबद्धता जनाए । प्रदेश २ भित्र रहेको पर्यटन क्षेत्रलाई वयवस्थित बनाई पर्यटकीय हब बनाउन उनले जोड दिए । देशमा पर्यटक क्षेत्रले पु¥याएको योगदान बारे उल्लेख गर्दै सरकारलाई पर्यटनन क्षेत्रमा लगानी गर्नु पर्ने बताए । कोरोना महामारीका कारण लामो समय प्रभावित भएको पर्यटन क्षेत्रलाई जुर्मुराउने बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले अभियान थालेको छ ।
संघले ‘जाउँ है पोखरा–२०७७’ अभियान सफल बनाउनको लागि मुलुकको मूख्य पर्यटकीय क्षेत्रमा सुझाब संकलनसंगै पोखरा जाँन सरोकारबला निकायसंग आग्रह पनि गरिरहेका छन् । पोखरामा पर्यटन प्रवद्र्धनकालागि ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत फेवा महोत्सव आयोजना हुनेछ । आगामी चैत २ ९ गतेदेखि बैशाख १ गतेसम्म हुने फेवा महोत्सव स्वदेश र विदेशमा बसोबास गर्दै आएका नेपाली र विदेशी पर्यटकलाई पोखराको पर्यटकीय महत्वबारे प्रचार प्रसार गर्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । पोखरामा विगत १६ वर्षदेखि यो अभियान हुँदै आएको छ । पोखरालाई पर्यटकीय राजधानी बनाउने यो अभियानको मुख्य उद्देश्य रहेको पश्चिमाञ्चल होटल संघ पोखराका वर्तमान अध्यक्ष विकल तुलाचनले बताएको छ ।
तपाईको प्रतिक्रिया !!