काठमाण्डौ । मंसिर १६ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका अरु केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।
आज पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो । निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । काँग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो ।
यसैबीच, काँग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई तत्काल रिहा गर्न माग गर्दै सरकारको सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ । वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उहाँले यस्तो चेतावनी दिनुभएको हो । देउवाले विज्ञप्ति मार्फत वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन काँग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु भन्नुभएको छ । सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल नेता पौडेललाइ रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न उहाँले सरकारलाइ चेतावनी दिनुभएको छ । पौडेल प्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत भएको सभापति देउवाको दाबी छ ।
तपाईको प्रतिक्रिया !!