
टुडे एक्सप्रेस । जनकपुरधाम । मंसिर १४ गते । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका दुई कर्मचारी झण्डै एक महिनापछि आज आमरण अनसन तोडेका छन् । कलेज प्रशासनसँग भएको तीन बुँदे सम्झौतापछि कर्मचारीद्वय कुलदीप साह र जानकी शरण यादवले आज २८ औं दिन अनसन तोडेका हुन्। कर्मचारी बर्खास्त गरको निर्णय फिर्ता लिने, मंसिर १७ गतेभित्र कार्यदल गठन गरी कर्मचारीहरूको समस्या समाधान गर्ने र जिल्ला प्रहरी कार्यालयमा भदौं ३१ मा भएको सम्झौता कार्यान्वयण गर्ने सहमति भएको छ । सहमति पत्रमा कलेजको तर्फबाट व्यवस्थापक प्रतिनिधि ललन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत दयानन्द झाले हस्ताक्षर गरका छन् ।
स्वास्थ्यकर्मीहरूको आधिकारिक ट्रेड युनियनको पहलमा कलेज प्रशासनले तीन बुंदे सम्झौता गरपछि कर्मचारीद्वय साह र यादव आमरण अनसन तोड्न सहमत भएको कर्मचारी संघर्ष समितिका अध्यक्ष उमेश यादवले जानकारी दिए । उनले भने, ‘यस पटक स्वास्थ्यकर्मीहरूको आधिकारिक ट्रेड युनियनको पदाधिकारीको अगुवाइमा सम्झौता भएको छ । त्यसैले सम्झौता कार्यान्वण हुने विश्वास छ ।’ सम्झौतापछि प्रादेशिक अस्पतालको आइसियु कक्षमा आमरण अनसनरत कर्मचारीद्वय साह र यादवलाई नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष राम गुलाम कर्णले जुस खुवाएर अनसन तोड्न लगाए ।
अनसन तोडेका कर्मचारी यादवले पनि आज भएको सम्झौता कलेज प्रशासनले कार्यान्वन गर्ने विश्वास व्यक्त गरे । कलेजले ६ वर्षको सञ्चय कोष, ६ वर्षको दशैं भत्ता र नियमित तलब समेत लामो समयदेखि नदिएको भन्दै कर्मचारीद्वय साह र यादवले कात्तिक १६ गतेदेखि आमरण अनसन थालेका थिए । उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बनेपछि प्रहरीले ११ औं दिन कलेजबाट उठाएर जनकपुरस्थित प्रादेशिक अस्पताल पु¥याएको थियो ।
तपाईको प्रतिक्रिया !!