काठमाण्डौ । लैङ्गिक हिंसा अन्त्यका लागि भएका कानुन कार्यानवयनमा कडाइ गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । सामुदायिक सूचना नेटवर्क सीआईएनले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विशेष “हेलो सांसद् कार्यक्रम“ मा सहभागीहरुले यस्तो जोड दिएका हुन्। सांसद विन्दा पाण्डेले तेजाव आक्रमण गर्नेलाई कारबाहीको दायरा बढाएर सरकारले अध्यादेश ल्याउनु सकारात्मक पक्ष भए पनि नयाँ कानुन बनाउने र भएकालाई परिमाजृन गर्न बाँकी रहेको बताउनुभयो ।
तेजाव आक्रमणमा परेकाहरुको शिक्षा तथा स्वास्थ्य र रोजगारीका बारेमा पनि सरकारले पहिलेकोभन्दा राम्रो व्यवस्था गरेको उहाँको भनाइ छ । ‘अझैँ पनि गाउँघरमा प्रधानपञ्च बसेर बलात्कार लगायतका हिंसाका घटनामा मिलापत्र गर्ने काम भइरहो छ । जनप्रतिनिधिको यस्ता घटनामा संलग्ना हुनु दुखद हो ।’ सांसद पाण्डेले थप्नुभयो, ‘कुनै पनि जनप्रतिधि यस्ता घटनामा संलग्न भएमा उसलाई पदबाट वर्खास्त गरी भविष्यमा त्यस्ता पदका लागि अयोग्य हुनेगरी कालो सूचीमा राख्नुपर्ने प्रस्ताव हामीले गरेका छौँ ।
अबको दुई वर्षभित्रमा यस्तो व्यवस्था जसरी पनि ल्याउने गरी काम भइरहेको छ ।’ कार्यक्रममा नेपाल प्रहरी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंहले घरेलु हिंसाका घटना सबभन्दा धेरै भएको जानकारी दिँदै परिवारभित्रैबाट राम्रो संस्कार दिएमा मात्र हिंसाका घटनामा कमि आउने बताउनुभयो । उहाँका अनुसार नोबेल कोरोना भाइरसको महामारीपछि भने यौन हिंसाका घटना बढेका छन् । यी घटनामा बालबालिका सबभन्दा धेरै प्रभावित भएको उल्लेख गर्दै सिंहले आफन्तजनको संलग्नता देखिँदै गएको जानकारी दिनुभयो । अधिकारकर्मी तथा पत्रकार बबिता पुरुषको समस्याका बारेमा बहस हुने गरे पनि तेस्रो लिङ्गीहरुको बारेमा चर्चा नहुनु दुखद रहेको बताउनुभयो । नागरिकता लगायतका विषयमा अझैँ पनि तेस्रो लिङ्गिहरु मर्कामा परेकाले यस्ता समस्या फुकाउनका लागि सांसदहरुले भूमिका निर्वाह गरिदिनुपर्नेमा उहाँको जोड थियो । जुम र प्रत्यक्ष रुपमा भएको कार्यक्रममा १ सयभन्दा धेरैको सहभागिता रहेको थियो । सभार सिआईएन
तपाईको प्रतिक्रिया !!