
टुडे एक्सप्रेस । जनकपुरधाम । मंसिर १२ थते । बालिका हत्यापछि बर्दिवासमा चर्केको आन्दोलन मत्थर पार्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा बुधवार सर्वदलीय बैठक बस्यो । बैठकमा भएको छलफलबाट गोली लागेर मृत्यु भएका सुरश न्यौपानेलाई शहिद घोषणा गर्न सरकारसँग अनुरोध गर्ने,मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिने, हत्या घटनाको अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने र घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने सहमति बन्यो । सहमती भएलगत्तै अब बर्दिबासको अवस्था सामान्य होला भन्ने सबैले सोचेका थिए ।
तर त्यसो हुन सकेन । प्रशासनले जनाएको प्रतिवद्धतामा पीडित पक्ष र स्थानीय युवाहरूले असहमति जनाए । जसका कारण बिहिवार समेत दिनभर बर्दिबास ठप्प रह्यो। महिला अधिकारकर्मी सावित्री सुवेदीले बर्दिबास आएर आन्दोलन झन् उग्र बनाइन् । केहि महिला र युवाहरूको साथ पाएर उनले बर्दिबासमा जुलुस निकालिन्। राजमार्ग पुनः अबरुद्ध बन्यो । उनले अपराधीलाई फाँसी हुनुपर्ने माग राखेकी छन् । स्थानीय प्रमेश्वर महतो भन्छन्,‘प्रशासनले केही नेतासँग छलफल गरी सम्झौता भयो र अब आन्दोलन नहुने भनेर गलत हल्ला फैलायो। तर चार बुँदे सम्झौतामा पीडित परिवार सहमत छैनन् । सम्झौता पत्र नेताहरूले तयार पाररे पीडित परिवारसँग हस्ताक्षर गर्न लगाएको छ । यो कुरा युवाहरूलाई मान्य छैन । त्यसैले आन्दोलन रोकिएको छैन ।’
प्रशासनले पीडित पक्ष र आन्दोलन गर्ने युवाहरूलाई राखेर सम्झौता नभएसम्म आन्दोलन रह्ने उनको भनाइ छ । बर्दिबास घर भएकी शिक्षक उषा ढकालले पनि प्रशासनले चार बुँदे सम्झौता भएको भनेपनि त्यसमा पीडित परिवारको चित्त नबुझेको बताइन् । उनले टुडे एक्सप्रेससंग भनिन्, ‘सर्वदलीय बैठकबाट सम्झौता भयो। तर बैठकमा पीडित परिवारलाई नै राखेनन्। जसका कारण उनीहरू असन्तुष्ट छन् ।’ पीडित परिवारको थप माग के हो भन्ने कुरा थाहा नभएको उनले भनिन् ।
यता, प्रशासनले प्रहरीको गोली लागेर मृत्यु भएका सुरेश न्यौपानेको शव काठमाडौंबाट बर्दिबास ल्याउन नदिएको पनि आन्दोलनरत युवाहरूले बताएका छन् । एक युवकले भने, ‘शव बर्दिबास ल्याउन दिएका छैनन्। प्रशासनले काठमाडौंमै दाहसंस्कार गर्न पीडित परिवारलाई दबाब दिइरहेका छन् । प्रशासनले जर्वजस्ती गरेमा आन्दोलन झन चर्काउछौं ।’ सोमवार मध्यरातमा ६ बर्षीया बालिका गुलाब शाह खातुनको शव फेला परको थियो। उनको हत्या आरोपमा स्थानीय अरुण साह पक्राउ परिसकेका छन् ।
उनीमाथि प्रहरीले कारबाही अगाडी बढाइसकेको जनाएको छ । तर पनि हत्या विरुद्ध उग्र प्रदर्शन हुँदा प्रहरीले मंगलवार गोली चलाउँदा तीन जना घाईते भएका थिए । जसमध्ये न्यौपानेको मृत्यू भयो भने दुई जना घाईतेको
उपचार जारी छ । बर्दिवास ठप्प हुँदा पूर्वबाट पश्चिम जानेहरू समस्यामा छन्। प्रदर्शनकारीहरूले मोटरसाइकल समेत चल्न दिएका छैनन्। बजार पूर्णरुपमा बन्द छ । प्रदर्शनकारी बाहेक सडकमा मानिसहरू देखिदैनन्। तीन दिनेदेखि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया !!