रौतहट । रौतहटको गरुडामा जग्गा विवादमा झडप हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ७ भिमडावर टोलका ५० वर्षका फतिङ्गा ठाकुर रहेका छन् । ठाकुरलाई ३ जनाको समुहले आज बिहान काठको कोराले आक्रमण गरेका थिए ।
घाइते भएका ठाकुरको गरुडा स्थित सिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवी रावलले बताउनुभयो । उहाँले मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार भिमडावर ७ कै स्थानीय छिमेकी ५५ वर्षका ज्ञानी ठाकुर, ४५ वर्षका ध्यानी ठाकुर र ३५ वर्षका नागेन्द्र ठाकुरले फतिङ्गामाथि आक्रमण गरेका थिए । आक्रमण गर्ने तीनै जना दाजुभाई हुन् र उनीहरुले आफ्नो जग्गा भन्दै दावी गर्दै आएका थिए । सोही जग्गा विवादमा आज थप विवाद उत्पन्न गराएपछि दुबै पक्षबीच झडप भएको थियो ।
घटनामा संलग्न रहेका ३ दाजुभाई मध्ये ध्यानी ठाकुर गाउँमै लुकी छिपी उपचार गराइ रहेको अवस्थामा निजलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ भने फरार रहेका २ जनाको खोजी कार्य भईरहेको डिएसपी रावलले जानकारी दिनुभयो । सभार सिआईएन
तपाईको प्रतिक्रिया !!